मंसिर, काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व हरिबोधिनी एकादशी आज शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। कार्तिक शुक्ल एकादशीका दिन पर्ने यस पर्वलाई ठूलो एकादशी तथा प्रबोधिनी एकादशीका नामले समेत चिनिन्छ।
यस अवसरमा घरघरमा रोपेर पूजा गरिँदै आएको तुलसीको विशेष पूजा आराधना गरी भगवान् विष्णु अर्थात् दामोदरसँग विधिपूर्वक विवाह गराउने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु चार महिनापछि आजै ब्युँझने विश्वास गरिन्छ। भगवान् विष्णु जाग्ने दिनका रूपमा लिइने भएकाले यस दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ। यस अवधिमा तुलसीको नियमित पूजा आराधना गर्ने परम्परा छ। हरिबोधिनी एकादशीसँगै विवाह, व्रतबन्धलगायत शुभ तथा माङ्गलिक कार्यको सुरुआत गर्ने धार्मिक मान्यता पनि रहिआएको छ।
आजका दिन घरआँगनमा रहेको तुलसीको मठलाई गोबर र रातो माटोले लिपपोत गरी फूलमाला तथा विभिन्न सामग्रीले सिँगारेर विवाह गराउने चलन छ। साथै, भक्तजनले व्रत बस्ने, स्नान गर्ने, दान गर्ने तथा भगवान् विष्णुको भजनकीर्तन गरी पूजा आराधना गर्ने गर्दछन्।
हरिबोधिनी एकादशीका अवसरमा काठमाडौं उपत्यकाका चार नारायणसहित देशभरका विभिन्न नारायण तथा विष्णु मन्दिरमा विशेष पूजा, मेला र धार्मिक गतिविधि आयोजना भइरहेका छन्। विशेषगरी चाँगुनारायण, शेषनारायण, इचँगुनारायण, विशङ्खुनारायण र बूढानीलकण्ठ मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ।
धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्व बोकेको हरिबोधिनी एकादशीले नेपाली समाजमा धार्मिक सद्भाव र मौलिक संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।