आजदेखि नेपाल टेलिकमको सदस्यता–आधारित नयाँ सेवा सुरु, मासिक प्याकेज स्वतः नवीकरण हुने

28 June, 2026 156 Views
आजदेखि नेपाल टेलिकमको सदस्यता–आधारित नयाँ सेवा सुरु, मासिक प्याकेज स्वतः नवीकरण हुने
156

 असार १४ — नेपाल टेलिकमले आज (आइतबार) देखि सदस्यता–आधारित (Subscription-Based) नयाँ सेवा सञ्चालनमा ल्याउने भएको छ। सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै उक्त सेवा सुरु गर्न लागिएको सूचना तथा सञ्चारमन्त्री **विक्रम तिमलसिना**ले जानकारी दिएका हुन्।

शनिबार सामाजिक सञ्जालमार्फत मन्त्री तिमलसिनाले नयाँ व्यवस्थाअनुसार प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न मासिक प्याकेज उपलब्ध गराइने बताएका छन्।

उनका अनुसार, ग्राहकले एकपटक मात्र सदस्यता लिएपछि हरेक महिना पुनः प्याकेज सक्रिय (Subscribe) गरिरहनुपर्ने झन्झट हट्नेछ। प्रणालीले स्वतः मासिक रूपमा सेवा नवीकरण गर्ने व्यवस्था मिलाइने भएकाले सेवाग्राहीलाई थप सहज हुने विश्वास गरिएको छ।

मन्त्री तिमलसिनाले नेपाल टेलिकमले नयाँ सदस्यता–आधारित प्याकेजका शुल्क, उपलब्ध सुविधा, नवीकरण प्रक्रिया तथा अन्य प्रावधानबारे विस्तृत विवरण आजै सार्वजनिक गर्ने जानकारी पनि दिएका छन्।

सरकारले डिजिटल सेवा विस्तार, दूरसञ्चार सेवाको पहुँच र ग्राहकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै ल्याएको यो व्यवस्था लाखौं मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

Related Post