आक्रमण रोक्न अमेरिका र इरान सहमत, मध्यपूर्वमा तनाव कम गर्न कतारमा पुनः वार्ता हुने

29 June, 2026 130 Views
आक्रमण रोक्न अमेरिका र इरान सहमत, मध्यपूर्वमा तनाव कम गर्न कतारमा पुनः वार्ता हुने
130
काठमाडौँ । मध्यपूर्वमा बढ्दै गएको सैन्य तनावलाई तत्कालका लागि रोक्न र द्वन्द्व अन्त्य गर्न अमेरिका र इरानबीच एकअर्कामाथिको आक्रमण रोक्ने सहमति बनेको छ ।दुई हप्ताअघि जुन १७ मा भएको ऐतिहासिक युद्धविराम समझदारीको उल्लङ्घन गर्दै गत हप्ता दुवै पक्षले हर्मुज जलडमरु (Strait of Hormuz) क्षेत्रमा घातक हवाई र मिसाइल आक्रमण गरेपछि यो नयाँ सहमति भएको हो। 
आइतबार राति अमेरिकी अधिकारीहरूले दिएको जानकारी अनुसार, तत्कालका लागि सैन्य कारबाही रोक्ने निर्णय भएसँगै विश्वकै महत्त्वपूर्ण व्यापारिक र तेल ढुवानी मार्ग मानिने हर्मुज जलडमरुमा व्यावसायिक जहाजहरू पुनः स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन्।
यो अस्थायी समझदारीसँगै दुई देशबीच प्राविधिक र कूटनीतिक विषयमा वार्ता प्रक्रिया अगाडि बढाउने वातावरण तय भएको छ।दुवै पक्षबीच बाँकी रहेका विवादित मुद्दाहरू सुल्झाउन मङ्गलवार कतारको राजधानी दोहामा उच्चस्तरीय वार्ता पुनः सुरु हुने सम्भावना छ। 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले फेरि सम्झौता उल्लङ्घन गरे कडा सैन्य कारबाही गर्ने पुरानो चेतावनी दोहोर्‍याए पनि हाललाई युद्धविरामको वातावरणले विश्व बजार र कच्चा तेलको मूल्यमा देखिएको उतारचढावलाई केही हदसम्म शान्त पारेको छ।

Related Post