काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन् । नजिकिँदो चाडपर्वका बेला हवाई भाडा बढाएको गुनासो आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले चासो देखाएपछि वायुसेवा कम्पनीहरू भाडा घटाउन सहमत भएका हुन् ।
प्रधानमन्त्रीको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश)को सक्रियतापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो ।
छलफलपछि कम्पनीहरूले प्राधिकरणबाट स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्रीवितरण गर्ने सहमति जनाएका छन् । साथै, आफूहरूले कायम गर्ने भाडादरबारे सम्बन्धित बिक्रीवितरण प्लेटफर्ममार्फत यात्रुलाई जानकारी गराउने सहमति भएको क्यानले जनाएको छ ।
क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार यात्रुलाई राहत दिने उद्देश्यले स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने र त्यसबारे स्पष्ट सूचना सार्वजनिक गर्ने सहमति भएको हो।