अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो
76

कात्तिक। उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ। भूकम्पका कारण मान्छेहरु घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र  घरहरू ध्वस्त भएका छन र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन्।

समानगन प्रान्तको खुल्म क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्प २८ किलोलमिटरको गहिराइमा गएको थियो। कम्पनका कारण बाल्ख, समानगन, सार–ए–पोल, बागलान र कुन्दुजसहित पाँच प्रान्तमा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन्।

काबुल र उत्तरको प्रमुख शहर मजार–ए–शरीफको बीचमा पर्ने समानगनका पहाडी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। त्यहाँका अधिकांश घरहरू माटो–इँटाले बनेका कम तल्लाका संरचना भएकाले धेरै घरहरू भत्किएका छन् । धेरै नागरिकहरू भग्नावशेषमा पुरिएका छन्।

भूकम्पमा आफ्नो घरसँगै बुहारी गुमाएका स्थानीय गुलाबुद्दिनले आफूहरूको अवस्था एकदम नाजुक रहेको बताए। अफगान स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार आकस्मिक उद्धार टोली प्रभावित क्षेत्रहरूमा पुगिसकेका छन्। क्षेत्रभरका अस्पताललाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ।

यसअघि अगस्ट ३१ मा अफगानिस्तानको पूर्वी भागमा ६।० म्याग्निच्युडको भूकम्प जाँदा २,२०० भन्दा बढीको मृत्यु भएको थियो। उथलो केन्द्र र पहाडी भू–भागका कारण ठूलो धनजन क्षति भएको थियो।

सन् २०२३ को अक्टोबरमा उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पहरूले समेत हजारौँको ज्यान लिएको इतिहास छ। 

Related Post