46
काठमाडौँ । विभिन्न २५ वटा कम्युनिस्ट समूह र राजनीतिक घटकहरू बीचको ऐतिहासिक ध्रुवीकरण र एकीकरण सम्पन्न भएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलोपटक आफ्नो केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
पार्टी स्रोतका अनुसार यो महत्त्वपूर्ण बैठक असार १५ गते सोमबार अपराह्न ४:३० बजे अनलाइन माध्यमबाट सञ्चालन हुने तय भएको छ।पार्टीका नेता रामकुमार भट्टराईले भर्चुअल रूपमा बस्ने यस बैठकको मुख्य कार्यसूची पार्टीको नियमावली र कार्यविधिलाई परिमार्जनसहित अनुमोदन गर्नु रहेको जानकारी दिएका छन्।
२५ वटा फरक-फरक कम्युनिस्ट पृष्ठभूमि भएका शक्तिहरू एकापसमा गाभिएर एकीकृत स्वरूप पाएपछि बस्न लागेको यो पहिलो बैठक भएकाले यसलाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ।
नेकपाले आफ्नो संगठनात्मक संरचनालाई थप सुदृढ र व्यवस्थित बनाउन यो बैठकबाट ठोस निर्णयहरू लिने तयारी गरिरहेको छ।बैठकमा नियमावली पारित गर्नेसँगै केन्द्रीय समितिको कार्यसम्पादनलाई चुस्त बनाउने, विभिन्न केन्द्रीय विभागहरू गठन गर्ने, तल्लो तहसम्म संगठन विस्तारको मोडालिटी तयार गर्ने र मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गर्ने एजेन्डाहरू तय गरिएका छन्।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालको प्रमुख नेतृत्वमा रहेको यस नयाँ एकीकृत शक्तिले यसै बैठक मार्फत एकीकरणपछिको बाँकी सांगठनिक जिम्मेवारी बाँडफाँट र आगामी राजनीतिक कार्यदिशाको खाकालाई समेत अन्तिम रूप दिने अपेक्षा गरिएको छ।