अख्तियारलाई प्रधानमन्त्री कार्यालयमा घन्टौँ राखेको घटनामाथि अमरेशको प्रश्न– ‘शाखा हो कि संवैधानिक आयोग ?’

20 August, 2026 67 Views
अख्तियारलाई प्रधानमन्त्री कार्यालयमा घन्टौँ राखेको घटनामाथि अमरेशको प्रश्न– ‘शाखा हो कि संवैधानिक आयोग ?’
67

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाउँदै संवैधानिक निकायको हैसियत र कार्यशैलीबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार प्रधानमन्त्री कार्यालयको मातहतमा रहेको निकायजस्तो देखिन नहुने भन्दै प्रश्न गरे, ‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ?’

उनले अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालयमा पुग्नु र त्यहाँ लामो समयसम्म राखिनु उचित नभएको बताए। उनका अनुसार संवैधानिक आयोगले सरकारमाथि निगरानी राख्ने र राज्यका निकायबीच सन्तुलन कायम गर्ने भएकाले त्यसको स्वतन्त्रता र संस्थागत मर्यादा कुनै पनि अवस्थामा कमजोर पारिनु हुँदैन।

गत असारको पहिलो साता अख्तियारका पदाधिकारीसहितको टोली प्रधानमन्त्री कार्यालय पुगेको घटनालाई लिएर पनि प्रश्न उठेको थियो। अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले कार्यालयमै घन्टौंसम्म राखेर सोधपुछ गरेको दाबी सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको थियो।

यही घटनाको पृष्ठभूमिमा सांसद सिंहले अख्तियारको संवैधानिक स्वतन्त्रतामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री कार्यालयसँगको यस्तो व्यवहार र सम्बन्धबारे स्पष्टता आवश्यक रहेको बताएका हुन्।

सिंहले संवैधानिक निकायको स्वतन्त्रता कमजोर पार्ने कुनै पनि गतिविधिले लोकतान्त्रिक शासन प्रणालीमै प्रश्न उठाउने भन्दै सरकार र सम्बन्धित निकाय गम्भीर हुनुपर्ने धारणा राखेका छन्।

Related Post