60
अमेरिका र इरानबीचको तनाव चरम सीमामा पुगेका बेला अमेरिकी सेनाले इरानका मिसाइल, ड्रोन हब र राडार साइटहरूलाई लक्षित गरी शक्तिशाली हवाई हमला गरेको छ भने जवाफमा इरानले पनि अमेरिकी सैन्य बेसहरूमा आक्रमण गरेको छ।
हर्मुज जलडमरूमध्ये (Strait of Hormuz) मा व्यावसायिक मालवाहक जहाजहरूमाथि इरानले लगातार ड्रोन आक्रमण गरेर युद्धविराम उल्लङ्घन गरेको भन्दै अमेरिकी केन्द्रीय कमान्ड को निर्देशनमा अमेरिकी लडाकु विमानहरूले इरानका सैन्य पूर्वाधार, सञ्चार प्रणाली र ड्रोन भण्डारण स्थलहरूमा बमबारी गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम सम्झौता तोडेका कारण यो कारबाही गर्नुपरेको चेतावनी दिँदै आक्रमण जारी रहे कडा परिणाम भोग्नुपर्ने बताएका छन्।
यस हवाई हमलाको तत्कालै जवाफ दिँदै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएर ब्यालेस्टिक मिसाइल र सुसाइड ड्रोन प्रहार गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले वार्ताको माहौलकै बीच आक्रमण गरेर युद्धविराम भङ्ग गरेकाले यो रक्षात्मक जवाफी कारबाही गरिएको हो। दुवै पक्षबीच लगातार भइरहेको यो सैन्य भिडन्तले यस क्षेत्रमा भर्खरै भएको ऐतिहासिक युद्धविराम सम्झौता (MoU) लाई पूर्ण रूपमा जोखिममा पारेको छ र मध्यपूर्वमा ठूलो संकट निम्त्याएको छ।