अमेरिकाको आर्थिक नाकाबन्दीमा साथ नदिन इरानको छिमेकीलाई धम्की

23 August, 2026 13 Views
अमेरिकाको आर्थिक नाकाबन्दीमा साथ नदिन इरानको छिमेकीलाई धम्की
13

इरानले अमेरिकाको नयाँ आर्थिक प्रतिबन्ध अभियानमा साथ नदिन आफ्ना छिमेकी राष्ट्रहरूलाई चेतावनी दिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले अमेरिकी दबाबमा सहभागी हुने देशविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अर्थतन्त्र कमजोर पार्ने उद्देश्यले नयाँ आर्थिक अभियान घोषणा गर्दै इरानलाई सहयोग गर्ने वा उसँग व्यापार गर्ने देशले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने बताएका छन्।

ट्रम्पको चेतावनीपछि प्रतिक्रिया दिँदै रेजाईले अमेरिकी आर्थिक दबाबमा छिमेकी राष्ट्रहरू सहभागी भए स्ट्रेट अफ हर्मुज बाहेक खाडी क्षेत्रबाट बाहिरिने तेल ढुवानीका वैकल्पिक मार्गसमेत निशाना बनाउने बताएका छन्।

इरानको सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा रेजाईले अहिलेसम्म इरानले अमेरिकी सैन्य अखडालाई मात्र निशाना बनाएको दाबी गरे। तर अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध थप कडा बनाए तेल तथा आर्थिक क्षेत्रमा रहेका अमेरिकी कम्पनीलाई समेत निशाना बनाउन सक्ने उनको चेतावनी छ।

इराकसँगको सन् १९८० देखि १९८८ सम्मको युद्धका अधिकांश समय इस्लामिक रिभोलुसनरी गार्ड कोर्सका कमाण्डर रहेका रेजाईले इरानसँग अझै धेरै विकल्प बाँकी रहेको दाबी गरेका छन्।

अमेरिका र इरानबीच जारी तनाव बढ्दै जाँदा रेजाईको पछिल्लो चेतावनीले खाडी क्षेत्रमा आर्थिक तथा सुरक्षा संकट थप चर्किन सक्ने संकेत गरेको छ।

Related Post