काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग तत्काल हस्तक्षेप गर्न अपिल गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै कासिमले पाकिस्तानी सेना प्रमुख असीम मुनीरको नेतृत्वमा रहेको सैन्य प्रशासनमाथि हत्या, अपहरण र यातनाजस्ता गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् । आफ्ना बुबालाई कुनै क्षति पुग्नुअघि नै विश्व समुदायले कदम चाल्नुपर्ने उनको आग्रह छ ।
कासिमको अपिलसँगै अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले पनि इमरान खान र उनकी पत्नी बुशरा बीबीको हिरासत अवस्था तथा स्वास्थ्य उपचारप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
एम्नेस्टीका अनुसार इमरान खानले डिसेम्बर २०२५ यता परिवारका सदस्यसँग भेट्न पाएका छैनन् । सन् २०२६ को अगस्टमा बहिनीसँग दुई पटक भेट्न पाए पनि मार्च २०२६ देखि छोराहरूसँग टेलिफोनमा कुराकानी गर्न पाएका छैनन् । उनलाई एकान्त कारावासमा राखिएको र बाहिरी सम्पर्कबाट टाढा बनाइएको भन्दै संस्थाले यसले उनको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पार्न सक्ने चेतावनी दिएको छ ।
७४ वर्षीय इमरान खान उच्च रक्तचापको गम्भीर समस्याबाट पीडित रहेको उल्लेख गर्दै एम्नेस्टीले स्वतन्त्र चिकित्सकबाट उपचार पाउने अधिकारसमेत कुण्ठित भएको जनाएको छ । पाकिस्तानको सर्वोच्च अदालतले निजी अस्पतालमा उपचारको व्यवस्था गर्न आदेश दिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको संस्थाको आरोप छ ।
यस्तै, बुशरा बीबीको आँखासम्बन्धी समस्या गम्भीर बन्दै गएको र उचित उपचार नपाए दृष्टि गुम्न सक्ने जोखिम रहेको एम्नेस्टीले जनाएको छ ।
यसैबीच, इमरान खानका परिवारका सदस्यलाई समेत अधिकारका पक्षमा आवाज उठाएको भन्दै पक्राउ गरिएकोप्रति संस्थाले आपत्ति जनाएको छ । सेप्टेम्बर २० र २१ मा पक्राउ परेका उनका तीन बहिनीमध्ये दुई जना रिहा भए पनि अलीमा खान अझै लाहोरस्थित कोट लखपत जेलमा रहेकी छन् ।
एम्नेस्टीले इमरान खान र बुशरा बीबीलाई पर्याप्त स्वास्थ्य उपचार उपलब्ध गराउन, परिवार तथा कानुनी प्रतिनिधिसँग नियमित भेटघाटको व्यवस्था गर्न र अलीमा खानलाई तत्काल रिहा गर्न पाकिस्तानी अधिकारीसँग माग गरेको छ ।
यता, पाकिस्तान सरकारले भने इमरान खानमाथि दुर्व्यवहार र स्वास्थ्य उपचारमा बेवास्ता गरिएको आरोप अस्वीकार गर्दै आएको छ । सरकारले उनलाई परिवार, चिकित्सक र कानुनी प्रतिनिधिसँग भेटघाटको सुविधा दिइएको दाबी गरेको छ ।