फिफा विश्वकप अन्तर्गत समूह ‘एल’ मा क्रोएसियाले पानामामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै प्रतियोगितामा पहिलो विजय दर्ता गरेको छ।
क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका आन्ते बुडिमिर नायक बने। उनले खेलको ५४औँ मिनेटमा गरेको एकमात्र गोल नै टोलीको जितका लागि पर्याप्त बन्यो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेका थिए। दोस्रो हाफमा पानामाले पनि आक्रमणको प्रयास गरे पनि क्रोएसियाली रक्षापंक्तिलाई भेद्न सकेन।
यस जितसँगै क्रोएसियाले महत्वपूर्ण तीन अंक जोडेको छ भने पानामा लगातार दोस्रो हारसँगै अंकविहीन बनेको छ।
यता, समूहकै अर्को खेलमा इंग्ल्यान्ड र घाना गोलरहित बराबरीमा रोकिएका छन्। घानाको सुदृढ रक्षात्मक प्रदर्शनका कारण इंग्ल्यान्डले अपेक्षित नतिजा निकाल्न सकेन।
समूह ‘एल’ को अंकतालिकामा इंग्ल्यान्ड ४ अंकसहित शीर्ष स्थानमा छ। समान ४ अंक भए पनि गोलअन्तरका आधारमा घाना दोस्रो स्थानमा रहेको छ। क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा छ भने पानामा अंकबिहीन रहँदै पुछारमा छ।