बूढीगण्डकी बाढी : चार दिनमा १ हजार ४४ जनाको हेलिकोप्टरबाट उद्धार

15 October, 2026 116 Views
बूढीगण्डकी बाढी : चार दिनमा १ हजार ४४ जनाको हेलिकोप्टरबाट उद्धार
116

 

काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा फसेका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। आइतबारदेखि बिहीबारसम्म उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्।

बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्‍याएपछि स्थानीय तथा पर्यटक प्रभावित क्षेत्रमा फसेका थिए। उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको हो।

शर्माका अनुसार आइतबार ९६, सोमबार ३२१, मंगलबार १८६ र बुधबार ४४१ जनाको उद्धार गरिएको थियो।

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्र पारिएको छ। सरकार र विभिन्न संघसंस्थाको सहयोगमा खाद्यान्न, त्रिपाल, टेन्ट, म्याट, सिरक, सिरानी, सोलार र जेनेरेटरलगायत सामग्री पुर्‍याइएको छ। सडक तथा पदमार्ग अवरुद्ध भएपछि राहत सामग्री ढुवानी र नागरिकको उद्धारमा हेलिकोप्टर प्रयोग भइरहेको छ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटीले पनि बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता र राहत वितरणलाई तीव्र बनाएको छ। रेडक्रसका महामन्त्री ऋषि खनालका अनुसार प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्नुका साथै त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट र डिग्निटी किटलगायत गैरखाद्य सामग्री पठाइएको छ।

प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गर्न सकिने दुई ठूला टेन्टसमेत पुर्‍याइएको रेडक्रसले जनाएको छ। बाढीबाट भएको क्षतिको आकलन गर्न विज्ञ टोली परिचालन गरिएको छ भने सरकार र नेपाली सेनासँगको समन्वयमा थप राहत सामग्री पठाउने तयारी भइरहेको छ।

Related Post