बूढीगण्डकीमा बाढीको जोखिम बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान गृहमन्त्रीको आग्रह

11 October, 2026 88 Views
बूढीगण्डकीमा बाढीको जोखिम बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान गृहमन्त्रीको आग्रह
88

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा बाढीको बहाव बढ्दै गएपछि गृहमन्त्री सुधन गुरुङले नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेका छन् । उनले विशेषगरी जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन अनुरोध गरेका हुन् ।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत गोरखाको सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

उनले नेपालले फेरि अर्को भीषण बाढीको सामना गर्नुपरेको उल्लेख गर्दै आफ्नै निर्वाचन क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिकामा बाढीले पुर्‍याएको क्षतिबारे गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

गुरुङका अनुसार चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बाढीले बगाएको छ । त्यस्तै, घट्टेखोला क्षेत्रमा केही घरभित्र लेदोसहितको पानी पसेको र बूढीगण्डकी नदीको बहाव निरन्तर बढिरहेको खबर प्राप्त भएको उनले बताएका छन् ।

यसैबीच, चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलामा आएको बाढी बूढीगण्डकीमा मिसिँदा चार जना सम्पर्कविहीन भएका छन् । राष्ट्रिय समाचार समिति (रासस)का अनुसार उङगिलुङ खोला किनारमा रहेका चार वटा गोठ र त्यहाँ बाँधिएका १५ वटा याक तथा नाकसमेत बाढीले बगाएको छ । पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन भएका हुन् ।

बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल पनि बगाएको छ भने माछीखोला बजारमा क्षति पुगेको छ । त्यस्तै, आरुघाटको सोती र मान्बु जोड्ने पुलसमेत बाढीले बगाएको छ ।

गृहमन्त्री गुरुङले घटनालगत्तै उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको बताएका छन् । उनका अनुसार उद्धार तथा स्थानान्तरणका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन भइसकेका छन् ।

उनले प्रभावित क्षेत्रका बासिन्दालाई धैर्य राख्न, उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । साथै, कुनै पनि आपत्कालीन सहायता आवश्यक परे गृह मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

Related Post