काठमाडौं । बाढीको विपद्का बेला सरकारले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई मन्त्रालय फिर्ता बोलाएपछि निर्णयको आलोचना भएको छ ।
कर्मचारीलाई हौसला दिनुपर्ने समयमा छोटो अवधिमै सीडीओ सरुवा गर्दा मनोबल घट्न सक्ने भन्दै विज्ञहरूले प्रश्न उठाएका छन् । परियार रसुवामा हाजिर भएको दुई महिना मात्र भएको थियो ।
गृह मन्त्रालयले भने जेन–जी युवाहरूसँगको विवादपछि स्थिति असहज बनेकाले उनलाई फिर्ता बोलाइएको जनाएको छ ।
मन्त्रालयस्रोतका अनुसार बेपत्ता व्यक्तिको खोजी, उद्धार, राहत र औषधोपचारका विषयमा जेन–जी रसुवाका अगुवा आदर्श ढकालसहितका व्यक्तिसँग परियारको जिल्ला प्रशासन कार्यालयमा भनाभन भएको थियो । ढकालले आफूहरूलाई राम्रो प्रतिक्रिया नदिएको भन्दै कालोमोसो दल्ने धम्कीसमेत दिएको स्रोतको दाबी छ ।
विभिन्न राजनीतिक दल र नागरिक समाजले पनि सीडीओको भूमिका समन्वयकारी नभएको गुनासो गरेपछि उनलाई मन्त्रालयमा काजसरुवा गरिएको स्रोतले जनाएको छ ।
तर, जेन–जी रसुवाका अगुवा ढकालले भने सीडीओको सरुवामा आफूहरूको कुनै भूमिका नभएको बताएका छन् । उनले परियारसँग झगडा नभई ‘मिस अण्डरस्ट्याण्डिङ’ मात्र भएको बताए ।
‘त्यसबेला उहाँले हामीलाई बेवास्ता गर्नु भएजस्तो लाग्यो, सायद उहाँ पनि व्यस्त हुनुहुन्थ्यो होला,’ ढकालले भने, ‘उहाँको सरुवा हुनुको पछाडि सरकारले नै केही मूल्याङ्कन गरेको होला, हाम्रो कारणले होइन ।’
रसुवामा बाढी आएको ११ दिनपछि गृहमन्त्री सुदन गुरुङले मन्त्रीस्तरीय निर्णय गर्दै परियारलाई मन्त्रालय फिर्ता बोलाएका हुन् । उनको ठाउँमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई पठाइएको छ ।