बाढीपछि लुटपाटमा संलग्नमाथि कारबाही हुने

27 August, 2026 19 Views
बाढीपछि लुटपाटमा संलग्नमाथि कारबाही हुने
19

काठमाडौं । बाढीपछिको विपद्को मौका छोपेर शवबाट सुन लुट्ने, राहत सामग्री तथा ग्यास सिलिण्डर खोसाखोस गर्ने जस्ता अमानवीय गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही हुने प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार बाढीपछि भएका यस्ता गतिविधिबारे प्रहरी जानकार रहेको बताएका छन्। अहिले प्रहरी उद्धार, घाइतेको उपचार र शव पहिचानमा केन्द्रित रहेको प्रहरीले यी काम सकिएपछि संलग्नमाथि कानुनअनुसार कारबाही गर्ने जनाएको छ।

बाढीले बगाएको शवबाट सुन निकालिएको तथा चितवनको नारायणी नदीमा ग्यास सिलिण्डर खोसाखोस भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएका छन्।

त्यस्तै, विपद्को समयमा भ्रमपूर्ण सूचना फैलाउने, भय सिर्जना गर्ने तथा भ्यूजका लागि विभत्स दृश्य प्रसारण गर्ने गतिविधिलाई समेत प्रहरीले निगरानीमा राखेको जनाएको छ।

प्रवक्ता काफ्लेले कुनै पनि अमर्यादित र अमानवीय गतिविधिले कानुनी उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्।

Related Post