बागमतीमा एमालेका थापा मुख्यमन्त्री बन्दै, आजै शपथको तयारी

20 August, 2026 8 Views
बागमतीमा एमालेका थापा मुख्यमन्त्री बन्दै, आजै शपथको तयारी
8

बागमती प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता किरण थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गरी आजै शपथ गराउने कार्यक्रम तय गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार बिहीबार अपराह्न ४ बजेर ५ मिनेटमा थापालाई मुख्यमन्त्री नियुक्त गर्ने र त्यसको १५ मिनेटपछि अर्थात् ४ बजेर २० मिनेटमा शपथ ग्रहण गराउने तयारी गरिएको छ।

यसअघि प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको थियो।

सोही आह्वानअनुसार ३ भदौमा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनसहित थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

यद्यपि, थापाको दाबीमा राप्रपाको समर्थन समावेश भएपछि उक्त विषयलाई लिएर राप्रपाभित्रै विवाद उत्पन्न भएको छ। राप्रपाको बागमती प्रदेश संसदीय दलले थापालाई समर्थन गर्ने निर्णय गरे पनि पार्टीको केन्द्रीय निर्देशनबिना प्रदेश संसदीय दलले गरेको निर्णय आधिकारिक नभएको भन्दै केन्द्रले असहमति जनाएको छ।

राप्रपा केन्द्रले प्रदेशमा कुनै पनि दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै बुधबार नै प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएको थियो। यसले थापाको मुख्यमन्त्री नियुक्तिमा राप्रपाको समर्थनलाई लिएर राजनीतिक बहस थप पेचिलो बनेको छ।

Related Post