काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भक्तपुरको निकोसेरास्थित निवासबाट प्रसाईंलाई नियन्त्रणमा लिएको हो। भक्तपुरका एसपी सूर्य खड्काको नेतृत्वमा पुगेको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जिकिर गरेको छ।
प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए। आन्दोलनको घोषणा भएको केही समयमै प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।
प्रहरीको उच्च स्रोतका अनुसार प्रसाईंमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। यद्यपि, पक्राउको विस्तृत कारणबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।
प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक पक्राउ परेर छुट्दै आएका छन्। गत जेठ ४ गते पनि प्रहरीले उनलाई पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो। त्यसबेला सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अपशब्द प्रयोग गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
त्यसअघि गत वर्ष तीनकुनेमा भएको प्रदर्शनअघि पनि प्रसाईं चर्चामा आएका थिए। उक्त प्रदर्शन हिंसात्मक बनेको र घटनामा दुई जनाको मृत्यु भएको भन्दै प्रहरीले दाबी गर्दै आएको छ। त्यसयता प्रसाईंमाथिका गतिविधिलाई सुरक्षा निकायले निरन्तर निगरानीमा राख्दै आएको बताइएको छ।