भारतबाट प्राप्त एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा पूर्व वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

28 July, 2026 53 Views
भारतबाट प्राप्त एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा पूर्व वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
53

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भारत सरकारले उपलब्ध गराएको एम्बुलेन्स निजी प्रयोजनमा प्रयोग गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार यादवले २०७७ असोज १४ गते भारतीय राजदूतावाससँगको सम्झौताअनुसार वडाबासीलाई निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स प्राप्त गरेका थिए। तर, उक्त एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी अभिलेखमा दर्ता नगरी आफ्नै नियन्त्रणमा राखेर निजी सवारीसरह सञ्चालन गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

आयोगका अनुसार एम्बुलेन्स ३ वर्ष ५ महिनाको अवधिमा ३० हजार १८५ किलोमिटर सञ्चालन गरिएको थियो। यस अवधिमा सञ्चालनसम्बन्धी लगबुक, इन्धन खर्च र आम्दानीको कुनै आधिकारिक अभिलेख नराखी भाडा असुल गर्दै व्यक्तिगत लाभका लागि प्रयोग गरिएको आरोप छ।

नेपाल रेडक्रस सोसाइटी धनुषाले निर्धारण गरेको कच्ची सडकको भाडादरका आधारमा सार्वजनिक सम्पत्तिमा १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको हानीनोक्सानी भएको अख्तियारको ठहर छ। अनुसन्धानका क्रममा यादवले ३ लाख ८१ हजार ५९७ रुपैयाँ बुझाए पनि बाँकी ११ लाख २७ हजार ६५३ रुपैयाँ असुल गर्नुपर्ने देखिएको आयोगले जनाएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो असुल, सोहीबमोजिम जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेले मंगलबार उक्त मुद्दा दायर गरिएको जानकारी दिएका छन्।

Related Post