काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज काठमाडौं आउँदैछन्। उनी अपराह्न करिब ४ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेपछि नेपाल भ्रमणमा आउन लागेका भारतीय उच्च अधिकारीमध्ये सेठ सबैभन्दा वरिष्ठ हुन्। भारतीय प्रधानसेनापतिको पद सम्हालेपछि उनले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्न लागेकाले उनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाल बसाइँका क्रममा सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने तयारी छ। यद्यपि उनको भ्रमणको विस्तृत कार्यतालिका परराष्ट्र मन्त्रालय र नेपाली सेनाले औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्।
सेठले सैनिक मञ्च टुँडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गर्ने तथा प्रधानसेनापति सिग्देलसँग नेपाल–भारत सैन्य सम्बन्ध र आपसी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।
उनको भ्रमणको मुख्य कार्यक्रम भने सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गर्ने विशेष समारोहमा नेपालको मानार्थ महारथीको दर्जा प्रदान गर्नु रहेको छ।
सात दशकदेखि कायम छ मानार्थ महारथीको परम्परा
भारत र नेपालबीच एकअर्काका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि चल्दै आएको नेपाली सेनाले जनाएको छ।
यसै परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्। २०८१ साल मंसिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई उक्त दर्जा प्रदान गरेकी थिइन्।
भारतीय प्रधानसेनापति सेठलाई पनि सोही परम्पराअनुसार नेपालले मानार्थ महारथीको दर्जा प्रदान गर्न लागेको हो।