भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा दिँदा प्रधानमन्त्री शाह अनुपस्थित

18 August, 2026 7 Views
भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा दिँदा प्रधानमन्त्री शाह अनुपस्थित
7

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह भने सहभागी भएनन्।

नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशमा आमन्त्रण गरी मानार्थ सैन्य दर्जा प्रदान गर्ने परम्परा लामो समयदेखि कायम छ। नेपालले भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथी’ को दर्जा दिने गरेको छ भने भारतले नेपाली प्रधानसेनापतिलाई ‘मानार्थ जनरल’ को सम्मान प्रदान गर्दै आएको छ।

यो परम्परा सन् १९५० देखि सुरु भएको मानिन्छ। पहिलोपटक भारतीय सेनाका तत्कालीन प्रमुख जनरल केएम करियप्पालाई नेपाली सेनाको मानार्थ जनरल/महारथीको दर्जा प्रदान गरिएको थियो। नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको सन्दर्भमा सुरु भएको यो अभ्यास कुनै सैन्य कमाण्ड वा अधिकारसँग सम्बन्धित नभई आपसी सम्मान र शिष्टाचारमा आधारित छ।

नयाँ सेना प्रमुख नियुक्त भएपछि एकअर्काको देशमा भ्रमण गरी मानार्थ दर्जा प्रदान गर्ने अभ्यास रहँदै आएको छ। नेपालका प्रधानसेनापति अशोकराज सिग्देललाई पनि भारतले १२ डिसेम्बर २०२४ मा राष्ट्रपति द्रौपदी मुर्मूबाट भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेको थियो।

नेपालमा भारतीय सेनाध्यक्षलाई मानार्थ दर्जा प्रदान गर्ने समारोहमा प्रधानमन्त्रीसमेत सहभागी हुने अभ्यास रहँदै आएको थियो। यसको विपरीत भारतमा नेपाली प्रधानसेनापतिलाई मानार्थ दर्जा प्रदान गर्दा त्यहाँका रक्षामन्त्री मात्र सहभागी हुने गरेका छन्। प्रधानसेनापति सिग्देललाई भारतमा मानार्थ जनरलको दर्जा दिइएको समारोहमा रक्षामन्त्रीसमेत सहभागी नभई रक्षा राज्यमन्त्री सञ्जय सेठ उपस्थित भएका थिए।

नेपालमा अहिले रक्षामन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शाहले नै सम्हालिरहेका छन्। तर धीरज सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने समारोहमा प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका थिए।

प्रधानमन्त्री समारोहमा अनुपस्थित भएपछि भारतीय पक्ष असन्तुष्ट बनेको बुझिएको छ। यद्यपि नेपाली सेनाले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले कार्यक्रम राष्ट्रपति कार्यालयको भएकाले आफूहरूलाई त्यसबारे जानकारी नहुने बताए।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले भने मानार्थ समारोहमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य नरहेको स्पष्ट पारे। उनका अनुसार भारतमा नेपाली प्रधानसेनापतिलाई मानार्थ दर्जा प्रदान गरिँदा पनि प्रधानमन्त्री सहभागी भएको नदेखिएकाले नेपालमा पनि प्रधानमन्त्रीको अनुपस्थितिलाई असामान्य रूपमा लिन नहुने उनको भनाइ छ।

यद्यपि भारतीय सेनाध्यक्ष सेठसँग प्रधानमन्त्री शाहले भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार उनीहरूबीच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता हुनेछ।

Related Post