भोटेकोशी बाढी : रसुवा भन्सारका १५ कर्मचारी अझै बेपत्ता

27 August, 2026 150 Views
भोटेकोशी बाढी : रसुवा भन्सारका १५ कर्मचारी अझै बेपत्ता
150

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी अझै सम्पर्कविहीन छन्।

भन्सार विभागका अनुसार कार्यालयमा कार्यरत ४० कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका कर्मचारीमध्ये दुई जनाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ भने अन्य ११ जना काठमाडौं आइपुगेका छन्। उनीहरूको अवस्था सामान्य रहेको विभागले जनाएको छ।

सम्पर्कविहीन कर्मचारीमा नहकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का रहेका छन्।

बाढीपछि सम्पर्कविहीन कर्मचारी तथा उनीहरूका परिवारसँग समन्वय गर्न विभागले सम्पर्क अधिकृतसमेत तोकेको छ। उद्धार, आवश्यक सूचना तथा सहयोगका लागि विभागले परिवारजनलाई तोकिएका अधिकारीसँग सम्पर्क गर्न आग्रह गरेको छ।

Related Post