काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्। आइतबार पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय संयोजन समितिको बैठकमा बाढीको समीक्षा गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीको गतिविधि उद्धारभन्दा ‘हिरोइजम’ देखाउनेतर्फ केन्द्रित भएको टिप्पणी गरे।
प्रचण्डले विपद्का बेला सबै राजनीतिक दलसँग समन्वय गरी राष्ट्रिय शक्ति परिचालन गर्नुपर्ने तथा सुरुङमा फसेका नागरिकको उद्धारका लागि छिमेकी र मित्रराष्ट्रसँग तत्काल प्राविधिक सहयोग लिनुपर्ने बताए। समयमै अन्तर्राष्ट्रिय सहयोग मागिएको भए धेरैको ज्यान जोगाउन सकिने उनको दाबी थियो।
उनले भोटेकोशी बाढीको मुख्य कारणमध्ये जलवायु परिवर्तनको प्रभाव रहेको भन्दै नेपालले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने धारणा पनि राखे।
बैठकले अब खोज तथा उद्धारसँगै राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ। साथै, पूर्वसूचना प्रणाली, जोखिम मूल्याङ्कन, अस्थायी आवास, सुरक्षित बस्ती, विपद् कोष र द्रुत प्रतिकार्य टोलीलगायत विषय समेटिएको २४ बुँदे विशेष प्रस्ताव पारित गरिएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
बैठकले प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगेर अवस्था बुझ्नसमेत सुझाव दिएको छ।
बाढीबाट हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटिएको, ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन रहेको र १३ हजार ३ सय ९६ जनालाई सुरक्षित स्थानमा सारिएको विवरण छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँमा बाढीले ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुर्याएको छ।