काठमाडौं । भोटेकोशी बाढीले विद्युत् पूर्वाधारमा क्षति पुर्याएपछि रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले काम तीव्र बनाएको छ।
मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बीच धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ। बाँकी क्षेत्रमा पनि सेवा सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली परिचालन गरिएको छ।
बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोला जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
चिलिमे आयोजनामा मड पम्प, जेनेरेटर र वाटर पम्प हेलिकप्टरबाट पुर्याइएको छ। रसुवागढी आयोजनामा उद्धार टोली विद्युत्गृह र आसपासको क्षेत्रमा पुगेको छ भने लाङटाङ आयोजनाको निकास मार्गमा थुप्रिएका माटो र ठूला चट्टान हटाउने काम भइरहेको छ। माथिल्लो त्रिशूली–३ ‘बी’मा मिनी एक्स्काभेटर र बक्याट प्रयोग गरेर भग्नावशेष हटाउने कार्य जारी छ।
मैलुङ खोला आयोजनाको अवस्था बुझ्न नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले स्थलगत निरीक्षण गरेको छ। बाढी प्रभावित आयोजनाका सुरुङबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारी र एक चिनियाँ नागरिकको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्रभावित क्षेत्रमा १३ वटा कार्यालय र ५०० वटा घरायसी प्रयोजनका सौर्य विद्युत् प्रणाली पठाइएको छ। रसुवामा विद्युत् सेवा तत्काल सञ्चालन हुन नसक्ने थप १ हजार २६८ घरधुरी पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
सडक अवरुद्ध भएका स्थानमा हेलिकप्टरमार्फत सौर्य प्रणाली पुर्याउने व्यवस्था मिलाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिए।