काठमाडौं । ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकका अनुसार बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसहित नदी आसपासका क्षेत्रमा व्यापक कटान तथा डुबान भएको छ । विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति हुनुका साथै बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनाहरूमा समेत असर परेको बैंकले जनाएको छ ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बेपत्ताको खोज तथा उद्धार, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न र आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको बैंकले जनाएको छ ।
बैंकले प्राकृतिक विपद् तथा राष्ट्रिय संकटका समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ । यसअघि पनि बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीलगायतका विपद्का समयमा बैंकले आर्थिक, भौतिक तथा मानवीय सहयोग उपलब्ध गराएको थियो ।