काठमाडौँ । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले प्रतिपरिवार १ लाख रुपैयाँ नगद सहायता उपलब्ध गराउने भएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रसबीच भएको सम्झौताअनुसार बाढी प्रभावित करिब ६ हजार परिवारलाई उक्त रकम उपलब्ध गराउने प्रारम्भिक तयारी गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही छनोट गरिनेछ । छनोट भएका परिवारको बैंक खातामा रकम सिधै जम्मा गरिने नेपाल रेडक्रसले जनाएको छ ।
सहायतामा महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय तथा विशेष आवश्यकता भएका परिवारलाई प्राथमिकता दिइनेछ ।
प्राप्त नगद सहायता प्रभावित परिवारले खाद्यान्न, स्वास्थ्य तथा सरसफाइ सामग्री, घरायसी आवश्यकता र जीविकोपार्जनलगायतका काममा खर्च गर्न सक्नेछन् ।
नेपाल रेडक्रसले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, संरक्षणलगायतका मानवीय सहायता कार्यक्रमसमेत निरन्तर सञ्चालन गरिरहेको जनाएको छ ।