9
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवैजनालाई थुनामा राख्न आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका भट्ट र अग्रवाललाई दोस्रो मुद्दामा बयान तथा थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएको थियो । दुवै पक्षको बहसपछि अदालतले उनीहरूलाई पनि थुनामै राख्ने निर्णय गरेको हो ।
पूर्वअर्थमन्त्री विष्णु पौडेलसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवालविरुद्ध पनि अभियोग दायर गरिएको थियो । सोही मुद्दामा पौडेललाई भने साधारण तारिखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।