काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गहिरो छानबिन गरी वास्तविक दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने बताएका छन्। एक वर्ष बितिसक्दा पनि घटनाको सत्यतथ्य सार्वजनिक हुन नसकेको भन्दै उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि माग गरेका छन्।
भदौ २४ लाई नेपालको इतिहासकै रहस्यमय र भयानक दिनका रूपमा उल्लेख गर्दै प्रचण्डले केही घण्टामै भएको घटनाबारे गम्भीर अध्ययन आवश्यक रहेको बताए। उनले यसमा देशभित्रका विषयसँगै अन्तर्राष्ट्रिय पक्ष पनि जोडिएको दाबी गर्दै अहिलेको भूराजनीतिक अवस्थालाई समेत ध्यान दिनुपर्ने बताएका छन्।
प्रचण्डका अनुसार भदौ २३ गते जेनजी युवाहरूले सुशासन र पारदर्शिताका लागि उठाएको आवाजलाई भोलिपल्टको घटनाले सम्बोधन गर्न सकेन। बरु त्यसले युवाहरूको भावना र आकांक्षामाथि प्रहार गरेको उनको भनाइ छ।
उनले एक वर्षको अवधिमा दोषी पहिचान गर्ने र सत्य बाहिर ल्याउने काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताए। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनसमेत कार्यान्वयनमा नलगी थन्क्याइएको भन्दै उनले त्यसलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।