काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको हिंसात्मक घटना अघिल्लो दिन युवाको मृत्युबाट उत्पन्न आक्रोश नभई लोकतन्त्र र संविधानमाथिको योजनाबद्ध आक्रमण भएको दाबी गरेका छन्। प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि भएका समग्र घटनाक्रमले पनि यो स्पष्ट हुने भन्दै ओलीले घटनाको गहिरो छानबिन गरी दोषी पहिचान र कारबाही गर्नुपर्ने बताएका छन्।
भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै उनले त्यस दिन राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई गम्भीर घटना भनेका छन्।
ओलीले भदौ २३ गते माइतीघरबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शनमा आपराधिक समूहले घुसपैठ गरेर हिंसात्मक बनाएको दाबी गरेका छन्। आयोजकले प्रदर्शन स्थगित गरेपछि पनि केही समूहले युवाहरूलाई प्रयोग गरेर संसद् भवनमा आक्रमण गर्न उक्साएको उनको भनाइ छ।
उनले शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार छन् भन्नेबारे निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन्। साथै, राज्यका महत्वपूर्ण संरचनामाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई रोक्न नसकेको विषय पनि स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
ओलीले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन हिंसा, अराजकता र दण्डहीनताको अन्त्य गर्दै दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।