भ्यानको बोराभित्र भेटियो १ करोड ६७ लाख रुपैयाँ, तीन जना पक्राउ

भ्यानको बोराभित्र भेटियो १ करोड ६७ लाख रुपैयाँ, तीन जना पक्राउ
38

काठमाडौं, १ मंसिर । ललितपुरको सानेपाबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ नगदसहित तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा बा.प्र. १–०२७ च २७६५ नम्बरको भ्यान रोकेर जाँच गर्ने क्रममा बोराभित्र लुकाएर राखिएको उक्त रकम बरामद गरेको हो। भ्यान नख्खुचोकतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले रोकेर जाँच गरेको थियो।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन्। उनीहरूमध्ये खड्का मार्केटिङ कर्मचारी, केसी चालक र रिजाल लोडर रहेको खुलेको छ।

बरामद रकममा एक हजार र पाँच सय रुपैयाँका नोटसहित विभिन्न दरका नेपाली नोट रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले रकम बरामद भएको पुष्टि गरेका छन्। प्रहरीले रकमको स्रोत र कारोबारको उद्देश्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Related Post