काभ्रेको रिसोर्टमा शंकास्पद गतिविधि, ३६ चिनियाँ नागरिक नियन्त्रणमा; दुई कोठामा भेटिए ठूलो संख्यामा ल्यापटप र मोबाइल

काभ्रेको रिसोर्टमा शंकास्पद गतिविधि, ३६ चिनियाँ नागरिक नियन्त्रणमा; दुई कोठामा भेटिए ठूलो संख्यामा ल्यापटप र मोबाइल
37

 

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालस्थित एक रिसोर्टबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। शंकास्पद गतिविधि भइरहेको भन्ने स्थानीयको जनगुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले रिसोर्टमा छापा मारेको हो।

पाँचखाल नगरपालिका–७, शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टमा मंसिर १ गते दिउँसो करिब ३ बजे प्रहरीले चेकजाँच गरेको थियो। प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको टोलीले रिसोर्टमा छापा मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चेकजाँचका क्रममा ३१ जना पुरुष र ५ जना महिला गरी ३६ जना चिनियाँ नागरिक फेला परेका थिए। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ल्याइएको छ।

प्रहरीका अनुसार रिसोर्टका दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत फेला परेका छन्। बरामद सामग्री र उनीहरूको गतिविधिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीले नियन्त्रणमा लिइएका चिनियाँ नागरिकहरू के प्रयोजनका लागि रिसोर्टमा बसेका थिए र ठूलो संख्यामा विद्युतीय उपकरण किन राखिएको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

Related Post