काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ५ बजे घर जाने हतार नगर्ने र जनताका कामले थाकेपछि मात्रै सुत्ने बताएका छन् । जेनजी शहीद दिवसका अवसरमा काठमाडौंमा आयोजित स्मृति सभामा बोल्दै उनले आफूलाई ढाल्न अर्को गोली चल्नुपर्ने दाबी गर्दै पुराना दलका नेताहरूलाई जेनजी आन्दोलनको अपमान नगर्न चेतावनीसमेत दिएका छन् ।
गुरुङले जेनजी आन्दोलन इतिहास बनिसकेको भन्दै त्यसलाई विभिन्न ढंगले व्याख्या गरेर परिवर्तन गर्ने प्रयास नगर्न आग्रह गरे । आन्दोलनको अपमान गर्नु तीन करोड नेपाली जनताको अपमान गर्नु भएको उनको भनाइ थियो ।
उनले आफूहरू सत्ताको लोभ वा शक्तिको घमण्डले सरकारमा नआएको दाबी गर्दै विगतका नेताहरूको चिल्ला भाषणको संस्कार परिवर्तन गर्न आफूहरू सरकारमा आएको बताए ।
गुरुङले नागरिकलाई दुःख नहोस् भनेर सरकारले निरन्तर काम गरिरहेको दाबी गरे । ‘आज कति जना नागरिकलाई दुःख हुन दिएनौँ भनेर मात्रै हामी काम गर्छौँ । जब थाक्छौँ, तब मात्रै सुत्छौँ,’ उनले भने ।
आफूबाट कुनै कमजोरी नहोस् भनेर सधैँ सचेत रहेको बताउँदै गुरुङले जेनजीका माग सम्बोधन र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरे । तत्कालीन सरकारले सुशासनको मागसहित आन्दोलनमा उत्रिएका युवामाथि गोली चलाएको आरोपसमेत उनले लगाए ।
गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूलाई गरेको विश्वास कायम राख्ने प्रतिबद्धता जनाउँदै लामिछानेसँग निरन्तर सल्लाह लिइरहेको बताए । सुशासन स्थापनाको जिम्मेवारी दिएकोमा उनले लामिछाने र प्रधानमन्त्री बालेन शाहलाई धन्यवादसमेत दिए ।
आफू मन्त्री, दाइ, भाइ र छोरा रहेको उल्लेख गर्दै गुरुङले ‘अर्को गोली चल्नुपर्छ, त्यसपछि मात्रै म ढल्छु’ भन्ने अभिव्यक्ति दिएका थिए । देशमा फेरि गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने उनको दाबी थियो।