काठमाडौं । गएराति परेको अविरल वर्षाका कारण बाजुराका विभिन्न स्थानमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ। भारी वर्षापछि जिल्लाका ९ वटै स्थानीय तहका साना तथा ठूला नदी–खोलामा पानीको बहाव बढेको छ भने विभिन्न बस्ती बाढीपहिरोको जोखिममा परेका छन्।
सदरमुकाम मार्तडी नजिकै सेलाघाटसहित विभिन्न स्थानमा बाढी तथा पहिरो आएपछि केही परिवार विस्थापित भएका छन्। जोखिममा परेका नागरिकको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थलमा पुगेको थियो।
बडिमालिका नगरपालिका–९ सेलागाडमा घरमाथिबाट आएको पहिरोले १६ घरधुरी प्रभावित भएका छन्। तीमध्ये तीन घरधुरी उच्च जोखिममा रहेका छन् भने १३ घरधुरी जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उच्च जोखिममा रहेका तीन घर बस्न नमिल्ने अवस्थामा पुगेका छन्। ती घरधुरीमा २२ जना र जोखिममा रहेका १३ घरधुरीमा ८३ जना परिवारका सदस्य छन्। प्रहरीले प्रभावित परिवारका सामान सुरक्षित स्थानमा सारेको छ।
भारी वर्षाका कारण साँफे–मार्तडी राजमार्गसमेत अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। यस्तै, पहिरोले राप्कास्थित टोट्के सिँचाइ नहरको २३० मिटर प्लास्टिक पाइप र २५ मिटर पक्की नहर बगाएर क्षति पुर्याएको छ। विभिन्न स्थानका खेतीयोग्य जमिनसमेत बगरमा परिणत भएका छन्।जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार बाजुराका नौवटै स्थानीय तह बाढीपहिरोको जोखिममा छन्। जिल्लाका १५० भन्दा बढी गाउँबस्ती बाढीपहिरोजस्ता विपद्को उच्च जोखिममा रहेका छन्।
बाजुराका अधिकांश बस्ती भिरालो भूभागमा रहेकाले वर्षायाममा पहिरोको जोखिम उच्च हुने गरेको छ। सरोकारवालाका अनुसार एकीकृत बस्ती विकास तथा जोखिमयुक्त बस्ती स्थानान्तरणमा पर्याप्त ध्यान नदिँदा जोखिम बढ्दै गएको हो।प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले विपद्सम्बन्धी पूर्वसूचना, सचेतना, पूर्वतयारी र व्यवस्थित प्रतिकार्य योजनामार्फत जोखिम न्यूनीकरण गर्न सकिने बताएका छन्। लगातार वर्षा भइरहेकाले नदी तटीय तथा पहिरोको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।