बैंकमा नयाँ नोट साट्न सास्ती, राष्ट्र बैंक थापाथलीमा पाँच मिनेटमै सेवा

10 October, 2026 273 Views
बैंकमा नयाँ नोट साट्न सास्ती, राष्ट्र बैंक थापाथलीमा पाँच मिनेटमै सेवा
273

 

काठमाडौं । दसैँका लागि नयाँ नोट साट्न विभिन्न बैंकका शाखामा पुगेका सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। सूचना जारी गर्दै जुनसुकै बैंकबाट नयाँ नोट साट्न सकिने भनिए पनि व्यवहारमा भने सहज सेवा पाउन नसकेको उनीहरूको भनाइ छ।

सेवाग्राहीका अनुसार कतिपय बैंकमा नयाँ नोट नआएको, कतै सीमित नोट वितरण भइसकेको र कतै निश्चित मितिमा आउन भन्दै फर्काउने गरिएको छ। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकसहित निजी बैंकका शाखामा समेत यस्तो समस्या देखिएको उनीहरूको गुनासो छ।

तर, नेपाल राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयमा भने नयाँ नोट साट्न सहज भएको एक सेवाग्राहीले बताएका छन्। उनका अनुसार त्यहाँ पाँच मिनेटभित्रै आवश्यक रकम साट्न सकिएको थियो। ज्येष्ठ नागरिकले समेत लाइनमा लामो समय कुर्न नपरी सेवा पाउन सक्ने व्यवस्था रहेको उनले बताए।

अन्य बैंकमा सास्ती भोग्नुपरे पनि राष्ट्र बैंकमा छिटो र सहज सेवा पाएको भन्दै सेवाग्राहीले व्यवस्थापनको प्रशंसा गरेका छन्। सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तै व्यवस्थापन अन्य निकायमा पनि लागू गर्नुपर्ने उनीहरूको सुझाव छ।

Related Post