काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी–पहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतको मेडवेमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
गोर्खा नेपाली समाज मेडवेको आयोजनामा ६ सेप्टेम्बरमा जिलिङ्घामस्थित हिन्दू मन्दिरमा कार्यक्रम भएको हो। भोटेकोशीसहितका क्षेत्रमा ठूलो क्षति भएपछि पूर्वनिर्धारित तीज कार्यक्रम स्थगित गरी राहत तथा पुनर्निर्माणमा सहयोग जुटाउने उद्देश्यले सभा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बेलायती तथा नेपाली जनप्रतिनिधि, नेपाली संघसंस्थाका प्रतिनिधि र स्थानीय समुदायको सहभागिता थियो। सहभागीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बाढीपीडितलाई सहयोग गर्न अपिल गरे।
कार्यक्रममा संकलित राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी हस्तान्तरण गरिएको छ। साथै, प्रभावित क्षेत्रको पुनर्निर्माणमा दक्ष गोर्खा इन्जिनियर परिचालन गर्नुपर्ने सुझावसमेत राखिएको थियो।