बीपी राजमार्ग खुलाउने काम तीव्र, भोलि अपराह्नदेखि सञ्चालनको सम्भावना

68

काठमाडौं । चार दिनदेखिको निरन्तर वर्षाका कारण पहिरो र रोशी नदीको कटानले ठाउँ–ठाउँमा अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउन सडक विभागले काम तीव्र पारेको छ । खुर्कोट–भकुण्डेबेँसी खण्डमा सडकमा थुप्रिएको पहिरो तथा अन्य अवरोध हटाएर यातायात सञ्चालन गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिएका छन् ।

डिभिजन सडक कार्यालय भक्तपुरको टोली आज बिहानैदेखि सडक खुलाउन परिचालन भएको छ । मौसमले साथ दिएमा असोज १३ गते अपराह्नदेखि राजमार्ग सञ्चालनमा ल्याउन सकिने अधिकारीले बताएका छन् ।

पछिल्लो वर्षाको समयमा रोशी नदीको बहाव बढेसँगै राजमार्गका विभिन्न स्थानमा कटान र पहिरोको समस्या देखिएको हो । गत वर्ष असोजमा आएको बाढी र पहिरोले काभ्रे खण्डमा ठूलो क्षति पुर्‍याएपछि सडकको ठूलो हिस्सा बगेको थियो । त्यसपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

काठमाडौँलाई पूर्वी तथा मध्य तराईका जिल्लासँग जोड्ने बीपी राजमार्ग प्रमुख यातायात मार्ग हो । सडक अवरुद्ध हुँदा यात्रु तथा चालकसँगै स्थानीय बासिन्दा, ढुवानी, व्यापार–व्यवसाय र दैनिक आवागमनसमेत प्रभावित हुने गरेको छ ।

जापानी सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको यो राजमार्ग अहिले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको चरणमा समेत रहेको छ ।

Related Post