काठमाडौं । भोटेकोशी बाढीपछि उद्धार कार्यमा प्राविधिक कठिनाइ बढेपछि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेषज्ञ सहयोग मागेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार सुरुङभित्र फसेका तथा बाक्लो लेदोका कारण पहुँच पुग्न नसकेका स्थानमा खोजी गर्न उच्च क्षमताका ड्रोन, लाइडर र मड/टनेल रेस्क्यु सुट आवश्यक परेको छ। त्यस्तै, पानी तथा लेदो हटाउन उच्च क्षमताका पम्प, पुल पुनःस्थापनाका लागि बेली ब्रिज, डीएनए परीक्षण किट र ल्याब फ्रिजर पनि माग गरिएको छ।
विपद्पछि फैलिन सक्ने सरुवा रोग नियन्त्रणका लागि चिकित्सकीय तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन पनि सरकारले अपिल गरेको छ।
मन्त्रालयका अनुसार नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया, यूएई र मलेसियाका विशेष टनेल उद्धार टोली परिचालन भएका छन्। प्रभावित जलविद्युत् आयोजनामा उद्धार तथा पुनःस्थापनाका लागि थप उपकरण र प्राविधिक जनशक्ति परिचालन भइरहेको छ।
बेपत्ताको खोजी र शव पहिचानका लागि भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीले नेपाल प्रहरीसँग सहकार्य गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय समकक्षीसँग सहयोगका विषयमा निरन्तर संवाद गरिरहेको मन्त्रालयले जनाएको छ।