काठमाडौं। पाकिस्तानको ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका १० पर्वतारोहीमध्ये चार जनाले बोकेको ट्र्याकिङ उपकरणको स्थान पत्ता लागेको छ। उद्धार टोली अहिले उक्त स्थानतर्फ अघि बढिरहेको भए पनि ती पर्वतारोहीको अवस्था भने अझै खुल्न सकेको छैन।
पाकिस्तान अल्पाइन क्लबका महासचिव अयाज शिग्रीका अनुसार खोज तथा उद्धार अभियानका क्रममा चारवटा ट्र्याकिङ उपकरणको संकेत भेटिएको हो। तर ती उपकरण बोकेका पर्वतारोही जीवित छन् वा मृत्यु भइसकेको छ भन्नेबारे अहिलेसम्म पुष्टि हुन सकेको छैन।
उद्धार टोलीले ट्र्याकिङ उपकरण देखिएको स्थानतर्फ अघि बढिरहेको छ। शिग्रीका अनुसार उपकरणबाट कुनै गतिविधि नदेखिएकाले टोलीले स्थलमार्गबाट प्रत्यक्ष पुगेर अवस्थाको पुष्टि गर्ने प्रयास गरिरहेको छ।
हाल ड्रोन, स्थल उद्धार टोली तथा पाकिस्तानी सेनाका हेलिकोप्टर परिचालन गरेर खोजी अभियान जारी छ। सैन्य हेलिकोप्टरहरू उद्धार कार्यका लागि के–२ आधार शिविरमा पुगेका छन्।
अक्सिजनसहितको उद्धार टोलीलाई ट्र्याकिङ उपकरण रहेको स्थानसम्म पुग्न करिब चार घण्टाको कठिन आरोहण गर्नुपर्ने अनुमान गरिएको छ। शिग्रीले साँझसम्म हराइरहेका पर्वतारोहीहरूको अवस्थाबारे थप स्पष्ट जानकारी आउने आशा व्यक्त गरेका छन्।
सम्पर्कविहीन पर्वतारोहीमध्ये नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ पनि छन्। उनीहरू विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक आरोहण गरिरहेका बेला हिमपहिरोमा परेका थिए।
यद्यपि बाँकी छ जना पर्वतारोहीको अवस्थाबारे भने अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।