चाडपर्वमा अपराध रोक्न मधेस प्रहरीको ‘मेगा प्लान’, ७ हजार २२९ प्रहरी परिचालन

07 October, 2026 136 Views
चाडपर्वमा अपराध रोक्न मधेस प्रहरीको ‘मेगा प्लान’, ७ हजार २२९ प्रहरी परिचालन
136

जनकपुरधाम । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै मधेस प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका समयमा हुने भिडभाड, सवारी चाप, चोरी–लुटपाट तथा सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि प्रदेशका आठवटै जिल्लामा ७ हजार २२९ प्रहरी परिचालन गरिने भएको छ ।

चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले राजमार्ग तथा मुख्य सडकमा सवारी जाँच, मोबाइल गस्ती, पैदल गस्ती र स्कर्टिङलाई तीव्रता दिइने प्रहरीले जनाएको छ । यात्रुलाई आवश्यक सहयोगका लागि प्रदेशभर ६४ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिने मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भारतसँग जोडिएका सीमा नाकामा पनि निगरानी कडा पारिने भएको छ । खुला सीमाको दुरुपयोग गरी चोरी, तस्करी तथा अवैध सामान ओसारपसार हुन सक्ने भएकाले सीमा क्षेत्रमा थप प्रहरी परिचालन गरिने जनाइएको छ ।

धार्मिक तथा पर्यटकीय स्थल, बजार र बढी भिडभाड हुने क्षेत्रमा चोरी, पाकेटमारी तथा मानिस हराउने घटना रोक्न विशेष निगरानी गरिनेछ । सुरक्षा योजनाअन्तर्गत ३३९ स्थानमा पिकेट, १८० स्थानमा पैदल गस्ती र ८६ वटा मोबाइल गस्ती सञ्चालन गरिने भएको छ ।

छठ पर्वका क्रममा नदी, पोखरी तथा अन्य जलाशयका घाटमा ठूलो भिड हुने भएकाले डुबेर हुने दुर्घटना तथा भिडजन्य जोखिम न्यूनीकरणका लागि पनि विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

यस्तै, जुवा, तास तथा अवैध सट्टेबाजी, पटाका तथा आतिशबाजीबाट हुन सक्ने आगलागी, मादक पदार्थ सेवनबाट हुने झैझगडा, कुटपिट तथा घरेलु हिंसा नियन्त्रणमा पनि प्रहरीले निगरानी बढाउनेछ । देउसी–भैलो, सांस्कृतिक कार्यक्रम तथा डिजेका कारण रातिको समयमा हुन सक्ने शान्ति–सुरक्षासम्बन्धी समस्यालाई समेत प्रहरीले निगरानीमा राख्ने जनाएको छ ।

सम्भावित आगलागी, विद्युत् सर्ट, भिडजन्य दुर्घटना तथा अन्य आकस्मिक घटनाका लागि ९२ वटा क्विक रेस्पोन्स टिम तयारी अवस्थामा राखिने भएको छ । साथै, कालोबजारी, कृत्रिम अभाव, मूल्यवृद्धि, अवैध मदिरा तथा लागुऔषध कारोबार नियन्त्रणमा समेत प्रहरीले सक्रियता बढाउनेछ ।

सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह तथा गलत सूचनाबाट सामाजिक तनाव उत्पन्न हुन सक्ने भन्दै त्यसतर्फ पनि निगरानी बढाइने प्रहरीले जनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै संयुक्त गस्ती, सादा पोशाकमा सूचना सङ्कलन तथा आकस्मिक ड्युटीमा समेत प्रहरी परिचालन गरिनेछ ।

प्रदेश प्रहरीका अनुसार सबैभन्दा धेरै प्रहरी धनुषामा १ हजार ५९९ जना परिचालन हुनेछन् । बारामा ८७०, सप्तरीमा ८५७, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, पर्सामा ६६१ र सिरहामा ६५१ जना प्रहरी परिचालन गरिने भएको छ । यस्तै, प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा थप १८९ जनशक्ति परिचालन गरिनेछ ।

प्रहरीका अनुसार विशेष सुरक्षा योजना असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।

Related Post