चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पतालको सेवा बन्द

09 August, 2026 18 Views
चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पतालको सेवा बन्द
18

काठमाडौं । कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा चिकित्सक र नर्समाथि कुटपिट तथा तोडफोड भएपछि अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पताल प्रशासनका अनुसार गत शुक्रबार ड्युटीमा रहेका मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि अस्पताल परिसरमै कुटपिट भएको थियो।

अस्पतालको ओपीडी अगाडि बसेर स्थानीय केही व्यक्तिले अस्पतालको वाइफाइ प्रयोग गरी मोबाइलमा भिडियो गेम खेलिरहेका थिए। स्वास्थ्य सेवा प्रभावित हुने भन्दै चिकित्सक र नर्सले अस्पतालबाहिर गएर मोबाइल चलाउन आग्रह गरेपछि विवाद भएको थियो।

सुरक्षा गार्डले उनीहरूलाई अस्पताल परिसरबाट बाहिर निकाल्न खोज्दा चिकित्सक र नर्समाथि हातपात भएको अस्पताल प्रशासनले जनाएको छ। सोही दिन बेलुकी क्वार्टरमै पुगेर उनीहरूमाथि फेरि कुटपिट भएको बताइएको छ।

घटनापछि अस्पतालमा तोडफोडसमेत भएको र केही मेडिकल उपकरणमा क्षति पुगेको छ। पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेका अनुसार सोमबार घटनाको मुचुल्का तयार गरी सर्वपक्षीय छलफलबाट समस्या समाधानको प्रयास गरिनेछ।

चिकित्सक र नर्सले घटनामा संलग्नमाथि कारबाही र न्यायको माग गरेका छन्। हाल चिकित्सक डा. रैन कालिकोट सदरमुकाम मान्मा गएको र अस्पतालको सेवा पुनः सञ्चालनबारे छलफल भइरहेको गाउँपालिकाले जनाएको छ।

Related Post