151
काठमाडौँ। रसुवाका बाढी प्रभावितका लागि चीनले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ‘वाई–२०ए’ मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
सोही विमानबाट १० जना फरेन्सिक विज्ञसहित चिनियाँ विज्ञ टोलीको चौथो समूह पनि नेपाल आएको छ। उनीहरूले बाढीमा ज्यान गुमाएकाहरूको पहिचानमा नेपाल सरकारलाई प्राविधिक सहयोग गर्नेछन्।
राहत सामग्रीमा शव राख्ने फ्रिजर, महामारी नियन्त्रणका सामग्री, दैनिक उपभोग्य वस्तु तथा विपद् उद्धारका लागि आवश्यक बेली ब्रिजलगायत सामग्री छन्। बेली ब्रिज जडानका लागि आवश्यक उपकरण भने स्थलमार्ग हुँदै लिजी–नेचुङ नाकामा पुगिसकेको जनाइएको छ।