चीनको आर्थिक विकासबाट सिक्दै सहकार्य बढाउन चाहन्छ नेपाल : परराष्ट्र सचिव राई

14 August, 2026 74 Views
चीनको आर्थिक विकासबाट सिक्दै सहकार्य बढाउन चाहन्छ नेपाल : परराष्ट्र सचिव राई
74

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले चीनले हासिल गरेको आर्थिक विकासबाट नेपाल सिक्न इच्छुक रहेको बताएका छन् । उनले नेपाल–चीनबीचको आर्थिक सहकार्यलाई थप गहिरो बनाउन नेपाल प्रतिबद्ध रहेको बताए ।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव तथा ‘२०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिता’को पुरस्कार वितरण कार्यक्रममा बिहीबार बोल्दै सचिव राईले दुई देशबीचको सम्बन्ध साझा समृद्धिका लागि बृहत् साझेदारीतर्फ अघि बढिरहेको बताए ।

उनका अनुसार नेपाल र चीनबीच व्यापार, लगानी, पूर्वाधार विकास, पर्यटन, शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धमा पछिल्लो सात दशकमा उल्लेख्य विस्तार भएको छ ।

राईले ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल र त्यसको शीघ्र कार्यान्वयनलाई नेपालले उच्च प्राथमिकता दिएको बताए ।

उनले नेपाल ‘एक चीन सिद्धान्त’प्रति दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पनि दोहोर्‍याए ।

कार्यक्रममा चिनियाँ राजदूत चाङ माओमिङले नेपाल र चीनबीच व्यापार, पूर्वाधार, सम्पर्क सञ्जाल, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटनलगायत क्षेत्रमा सहकार्यले नयाँ प्रगति हासिल गरिरहेको बताए ।

Related Post