काठमाडौं । नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति तथा पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले संस्थापनइतर पक्षले चुनदेवीमा खोलेको सम्पर्क कार्यालयमा ‘नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेट आफूले राखेको बताएका छन् ।
शुक्रबार आयोजित राष्ट्रिय भेलामा बोल्दै कान्छारामले कुनै नेतासँग सल्लाह नगरी आफूले देउवालाई सभापति लेखिएको साइनबोर्ड कार्यालयमा राखिदिएको बताए ।
‘कुनै नेतालाई नसोधी मैले शेरबहादुर देउवा सभापति भन्ने साइनबोर्ड चुनदेवी कार्यालयमा राखिदिएको थिएँ,’ उनले भने ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई सिधै चुनदेवीस्थित सम्पर्क कार्यालय लगिएको थियो ।
कार्यालयमा देउवाका लागि छुट्टै कोठाको व्यवस्था गरिएको थियो भने ‘नेपाली कांग्रेस सभापति’ लेखिएको नेमप्लेटसमेत राखिएको थियो ।
कान्छारामका अनुसार चुनदेवीमा सम्पर्क कार्यालय खोज्ने, रङरोगन गर्ने तथा आवश्यक व्यवस्थापनको जिम्मेवारी उनलाई नेता शशांक कोइरालालगायतले दिएका थिए । राष्ट्रिय भेलामा पनि उनलाई भोजनलगायत व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।