चिनियाँ राजदूतसहितको टोली उपल्लो मुस्ताङमा, कोरला नाकाको अवस्थाबारे चासो

04 October, 2026 195 Views
चिनियाँ राजदूतसहितको टोली उपल्लो मुस्ताङमा, कोरला नाकाको अवस्थाबारे चासो
195

मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय चिनियाँ टोली शनिबार कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार चिनियाँ राजदूत कोरला नाका हुँदै मुस्ताङ प्रवेश गरेका हुन्। यद्यपि, भ्रमणको विस्तृत उद्देश्य र कार्यक्रमबारे औपचारिक जानकारी भने प्राप्त नभएको उनले बताइन्।

तीनदिने भ्रमणका क्रममा लोमान्थाङ पुगेको टोलीमा पाँच जना चिनियाँ नागरिक रहेको जनाइएको छ। टोली आइतबार लोमान्थाङबाट पुनः कोरला नाका हुँदै चीनतर्फ फर्किने कार्यक्रम रहेको छ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार चिनियाँ राजदूतको भ्रमण मुख्यतः कोरला नाकाको वर्तमान अवस्था बुझ्ने उद्देश्यसँग जोडिएको छ।

पछिल्लो समय चीनसँगको व्यापारिक आवागमनका लागि प्रयोग हुँदै आएका रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका प्रभावित भएपछि कोरला नाका सञ्चालनको विषयले थप प्राथमिकता पाएको छ। केरुङ–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण भौतिक संरचनामा क्षति पुगेपछि कोरला नाका वैकल्पिक व्यापारिक मार्गका रूपमा सञ्चालन गर्नुपर्ने मागसमेत उठ्दै आएको छ।

यसैबीच, रसुवा र तातोपानी नाका बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयबाट दैनिक करिब ३० करोड रुपैयाँ राजस्व संकलन हुँदै आएको बताइएको छ। यस्तो अवस्थामा कोरला नाकाको सञ्चालन र विस्तारलाई व्यवसायी तथा स्थानीयले महत्वपूर्ण रूपमा हेरेका छन्।

Related Post