काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सरकारले चार महिना पूरा गर्दा पनि अर्थतन्त्रमा अपेक्षित सुधारको संकेत नदेखिएको अर्थविद्, पूर्वगभर्नर र निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्।
त्रिभुवन विश्वविद्यालयका पूर्वप्रमुख डा. रेशम थापाले सरकारले गम्भीर संरचनागत सुधार गर्नुपर्ने ठाउँमा सामान्य उपायमै सीमित भएको टिप्पणी गरे। उनका अनुसार मौद्रिक र वित्तीय नीतिबीच समन्वयको अभाव छ भने लगानीकर्ताले सरकारप्रति अझै विश्वास गर्न सकेका छैनन्।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले निजी क्षेत्र हतोत्साहित भएको र सरकारले लगानीकर्तालाई आवश्यक सुरक्षा तथा विश्वास दिन नसकेको बताए। उनले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच देखिएको असमझदारीले बजारमा नकारात्मक सन्देश गएको उल्लेख गरेका छन्।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले पनि नीतिगत स्थिरता नहुँदा लगानीकर्तामा अन्योल बढेको बताए। उनका अनुसार सरकार गठनयता नेप्से करिब ३०० अंकले घट्नु पनि सरकारप्रतिको कमजोर विश्वासको संकेत गराए।
यता बैंकिङ प्रणालीमा करिब १५ खर्ब रुपैयाँ लगानीयोग्य रकम र ब्याजदर करिब ६ प्रतिशतमा झरे पनि निजी क्षेत्रले नयाँ लगानी बढाउन सकेको छैन। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सरकारको न्यून पुँजीगत खर्च र कमजोर व्यावसायिक मनोबलका कारण लगानी विस्तार हुन नसकेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले पनि सरकारसँग भएका छलफल र प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै निजी क्षेत्र अझै नयाँ लगानीभन्दा पुरानो ऋण व्यवस्थापनमै केन्द्रित रहेको बताएकी छन्।
अर्थविद्हरूका अनुसार सरकारले निजी क्षेत्रको आत्मविश्वास बढाउने, पुँजीगत खर्च तीव्र बनाउने, बैंकमा थुप्रिएको रकम उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने र नीतिगत स्पष्टता दिने विषयमा अपेक्षित काम गर्न नसक्दा अर्थतन्त्र अझै सुस्त अवस्थामै रहेको निष्कर्ष निकालेका छन्।