काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनामा फसेकाहरूको खोजीमा चार दिनपछि एउटा ‘केबल एक्सेस टनेल’ फेला परेको छ। टनेल भेटिएसँगै सुरुङभित्र फसेका प्राविधिक तथा कर्मचारीहरू जीवितै भेटिने आशा बढेको छ।
नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण र सुरुङ विज्ञसहितको टोलीले फेला परेको टनेलबाट भित्र प्रवेश गरी फसेकाहरूको अवस्था पत्ता लगाउने र उद्धार गर्ने तयारी गरिरहेको छ।
आयोजनाको भूमिगत संरचनाभित्र करिब ४० देखि ४२ जना प्राविधिक तथा विज्ञ फसेको अनुमान गरिएको छ। बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेपछि उद्धार टोलीले लगातार खोजी गरिरहेको थियो।
यसअघि सुरुङभित्र हावा र अक्सिजन पुर्याउन पाँचवटा प्वाल बनाइएको थियो। अहिले भेटिएको केबल एक्सेस टनेलबाट उद्धार टोली भित्र प्रवेश गर्न सके फसेकाहरूको वास्तविक अवस्था थाहा पाउने र उद्धार प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।
चार दिनदेखि जारी खोजीमा टनेल भेटिनुलाई उद्धार प्रयासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।