काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी), साइबर सुरक्षा र सुशासनमा गम्भीर कमजोरी फेला पारेको छ। आर्थिक वर्ष २०८१/८२ मा गरिएको स्थलगत निरीक्षणका क्रममा धेरै संस्थाले ग्राहकको विवरण प्रमाणित नगरेको र जोखिम व्यवस्थापनका मापदण्डसमेत पालना नगरेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले सो अवधिमा १६ वटा इजाजतप्राप्त संस्था, एउटा संस्थाको विशेष निरीक्षण तथा आरटीजीएस सेवा सञ्चालन गर्ने ६ वटा बैंकको स्थलगत निरीक्षण गरेको थियो।
निरीक्षणका क्रममा धेरै संस्थामा केवाईसी प्रमाणीकरण नभएका ग्राहकको संख्या ठूलो रहेको, तोकिएको समयमा प्रणाली सञ्चालन हुन नसकेको, आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापन कमजोर रहेको तथा आवश्यक भौतिक र प्राविधिक पूर्वाधारको अभाव रहेको पाइएको छ।
यस्तै, केही संस्थाले एन्टिभाइरस सफ्टवेयर नवीकरण नगरेको, वालेट प्रणालीको सुरक्षा परीक्षण नगरेको, डिजास्टर रिकभरी अभ्यास सञ्चालन नगरेको तथा फस्र्यौट खाताको दुरुपयोग भएको समेत राष्ट्र बैंकले जनाएको छ। केही संस्थाले फस्र्यौट खातामा रहेको मौज्दातभन्दा बढी ई–मनी जारी गरेको पनि निरीक्षणबाट खुलेको छ।
राष्ट्र बैंकका अनुसार यस्ता कमजोरीले डिजिटल भुक्तानी प्रणालीको सुरक्षा, उपभोक्ताको विश्वास र समग्र वित्तीय प्रणालीमा जोखिम बढाएको छ। ती संस्थालाई सुशासन, आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन र नियामकीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ।