ढल्केबरमा ट्रमा सेन्टर सार्न लागेको भन्दै राजमार्ग अवरुद्ध

10 August, 2026 26 Views
ढल्केबरमा ट्रमा सेन्टर सार्न लागेको भन्दै राजमार्ग अवरुद्ध
26

काठमाडौं । ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा आन्दोलनको पाँचौँ दिन बुधबार स्थानीयवासी, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रतिनिधिले बिहान ११ बजेदेखि साढे ११ बजेसम्म राजमार्गमा चक्काजाम गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीले सरकारको निर्णयविरुद्ध नाराबाजी पनि गरेका थिए।

ढल्केबरमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग गर्दै संघर्ष समितिले गत शुक्रबारदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ। बुधबार संसद्मा स्वास्थ्य मन्त्री निशा मेहताले ट्रमा सेन्टर लहानमा निर्माण गरिने जानकारी दिएपछि ढल्केबरमा विरोध थप चर्किएको हो।

संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार आन्दोलनअन्तर्गत बिहीबार बिहान ११ बजेदेखि १२ बजेसम्म र २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम छ।

ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम छुट्याएको थियो। मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस–२ ‘क’ को कित्ता नम्बर १६९ मा रहेको करिब चार बिघा ऐलानी जग्गालाई आयोजनाका लागि छुट्याइएको थियो।

मेयर महतोका अनुसार आयोजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको छ भने लालपुर्जा पनि बनिसकेको छ। ट्रमा सेन्टरको शिलान्यासको तयारी भइरहेका बेला सरकारले यसलाई लहानमा निर्माण गर्ने जानकारी दिएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्।

संघर्ष समितिले प्रस्तावित स्थान ढल्केबरमै ट्रमा सेन्टर निर्माणको काम अघि बढाउनुपर्ने माग गरेको छ। सरकारले निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने समितिले जनाएको छ।

 
 
 

Related Post