एआई चिपको माग बढ्दा सामसुङको नाफा नौ गुणाले बढ्ने प्रक्षेपण

08 October, 2026 137 Views
एआई चिपको माग बढ्दा सामसुङको नाफा नौ गुणाले बढ्ने प्रक्षेपण
137

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टरमा प्रयोग हुने मेमोरी चिपको माग तीव्र रूपमा बढेपछि दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले त्रैमासिक नाफामा ठूलो वृद्धि हुने प्रक्षेपण गरेको छ।

कम्पनीका अनुसार गत वर्षको सोही अवधिको तुलनामा सेप्टेम्बरसम्मको तीन महिनामा सञ्चालन नाफा करिब नौ गुणाले बढेर १०७.४ ट्रिलियन कोरियन वन पुग्ने अनुमान गरिएको छ। यो सामसुङको लगातार चौथो त्रैमासिकमा उच्च आम्दानीको रेकर्ड बन्ने अपेक्षा गरिएको छ।

सामसुङ विश्वका प्रमुख मेमोरी चिप उत्पादकमध्ये एक हो। कम्पनीले एनभिडियालगायत एआई प्रविधिमा काम गर्ने ठूला कम्पनीका लागि आवश्यक चिप आपूर्ति गर्दै आएको छ।

एआई प्रविधिका लागि आवश्यक चिपको विश्वव्यापी माग बढेसँगै सामसुङसहित एसके हाइनिक्स र माइक्रोनजस्ता प्रमुख उत्पादकले लाभ उठाइरहेका छन्। चिपको उच्च मागसँगै उत्पादन लागत र मूल्यसमेत बढ्दा स्मार्टफोन, कम्प्युटरलगायत विद्युतीय उपकरण महँगो हुने सम्भावना बढेको छ।

सामसुङले आफ्नो तेस्रो त्रैमासिकको पूर्ण वित्तीय विवरण अक्टोबरको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ।

Related Post