१५ दिनदेखि जोमसोममै थन्किएको २७ लाखको ड्रागन फ्रुट निःशुल्क वितरण

08 October, 2026 133 Views
१५ दिनदेखि जोमसोममै थन्किएको २७ लाखको ड्रागन फ्रुट निःशुल्क वितरण
133

काठमाडौं। चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको करिब २७ लाख रुपैयाँ बराबरको ड्रागन फ्रुट सडक अवरुद्ध भएपछि जोमसोममै निःशुल्क वितरण गरिएको छ।

बेनी–जोमसोम सडकखण्ड बाढी तथा पहिरोका कारण अवरुद्ध भएपछि १५ दिनभन्दा लामो समयदेखि ९२४ क्यारेट ड्रागन फ्रुट बोकेको कन्टेनर जोमसोममा रोकिएको थियो।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले सडकमा क्षति पुर्‍याएपछि कन्टेनर अघि बढ्न सकेको थिएन। सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने तथा ठूला सवारीसाधनसमेत सहज रूपमा सञ्चालन हुन नसक्ने भएपछि व्यवसायीले ड्रागन फ्रुट स्थानीयवासीलाई निःशुल्क वितरण गरेका हुन्।

व्यवसायीका प्रतिनिधि सुवास सुनुवारका अनुसार लामो समयसम्म कन्टेनरमै राख्दा जोमसोमको दिउँसोको चर्को गर्मी र रातिको अत्यधिक चिसोका कारण ड्रागन फ्रुट बिग्रिन थालेको थियो।

जोमसोममै बिक्री गर्ने प्रयास गरिए पनि पर्याप्त बिक्री हुन नसकेको सुनुवारले बताए। सडकको अवस्थाका कारण फल बेनीसम्म पुर्‍याउनसमेत सम्भव नभएपछि बिग्रिएर खेर जानुभन्दा स्थानीयलाई वितरण गर्नु उचित ठानेर निःशुल्क बाँडिएको उनको भनाइ छ।

निःशुल्क ड्रागन फ्रुट वितरण हुने जानकारी पाएपछि स्थानीयवासी कन्टेनर रहेको स्थानमा पुगेका थिए। व्यवसायीले आवश्यकताअनुसार स्थानीयलाई फल वितरण गरेका थिए।

सडक अवरोधका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरे पनि बाँकी फलसमेत बिग्रिएर खेर जान नदिन स्थानीयलाई वितरण गरिएको सुनुवारले बताए। ड्रागन फ्रुट वितरण सकेपछि व्यवसायी काठमाडौं फर्किने तयारीमा छन्।

Related Post