काठमाडौं । भारतमा उत्पादन भएको एमजीको नयाँ इलेक्ट्रिक एसयूभी ‘हेक्टर टोमहक’ नेपाल आइपुगेको छ। नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले उक्त विद्युतीय एसयूभी नेपाल ल्याएको हो।
कम्पनीले यसअघि नै एसयूभीको बुकिङ खुला गरिसकेको छ। यसको मूल्य भने असोज २४ गते शनिबार विशेष कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ।
एमजी हेक्टर टोमहकमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ६९.२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यसले ३१० न्युटन मिटर टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार पूर्ण चार्जमा यो एसयूभीले ५१७ किलोमिटरसम्म यात्रा गर्न सक्छ।
एसयूभीमा ९० किलोवाटको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यसबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न ३५ मिनेट लाग्ने कम्पनीको दाबी छ।
फिचरका हिसाबले यसमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले र १० स्पिकरयुक्त इन्फिनिटी साउन्ड सिस्टम दिइएको छ। अगाडिका दुवै सिटमा भेन्टिलेसन सुविधा पनि उपलब्ध छ।
४ हजार ७४५ एमएम लम्बाइ, १ हजार ८५० एमएम चौडाइ र २ हजार ८१० एमएम ह्विलबेस भएको यस एसयूभीको ग्राउन्ड क्लियरेन्स २३० एमएम छ।
बक्सी डिजाइनमा तयार गरिएको एसयूभीको अगाडिको भागमा स्लिम लाइट, उज्यालो हुने एमजी लोगो र १८ इन्चका ड्युअल टोन अलोय ह्विल राखिएका छन्। कम्पनीले यसको मूल्य सार्वजनिक गरेपछि नेपाली बजारमा प्रतिस्पर्धा थप स्पष्ट हुने अपेक्षा गरिएको छ।